Tuesday, April 15, 2014

जब म मरेँ


एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै गाह्रो पनि त भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई चिनिस् भनेर सोध्थ्यो तर खै को रहेछ ठम्याउनै सक्थिएन। 
एक त बुढो भएको शरीर, त्यसमाथि धेरै रोग। तर आज अचानक सबै दु:खाइ सकियो। अनि फेरि मैले आफू लडेर सुतेको आफैँले देखेको छु। न त मैले देखेको 'म' ले सास फेरेको थियो, न कुनै हलचल। एकछिनपछि छोरी आई र बाबा भनेर रुन लागी। श्रीमती चिच्चाएर डाँको छोड्दै कराउँदै "मलाई एक्लै छोडेर किन जानु भयो लैजानुस् सँगै .......... " भनेर रुन लागी। 
बिस्तारै रुवाबासीको तान्डव नै हुन लाग्यो। फेरि कोइ भन्थे, "बिचरा दु:ख पाएको थियो गएर ठिकै भयो।" । यस्तैबीचमा कोइले हरियो बाँस ल्याएछ अनि मलाई सेतो कपडाले बेर्न लागेका रहिछन् कोइ। रुवाबासीको पनि चर्कोचर्को आवाज आएको थियो। मैले हेर्दाहेर्दै मलाई कपडाले बेरेर बाँसमा राख्न लागे छरछिमेकीहरु र आफन्तहरु। 
"लासलाई छिटोछिटो सेलाउन पर्छ" भनेर एकजना बुढाले भन्दा पो म झसंग भ। हिजोसम्मको जीवित म आज लास पो भएको रहेछु भनेर।
फेरि पोको पारेको मलाई बाँसमा राखेर बाँध्न लागे सबै जना मिलेर, बिस्तारै आफन्तहरु आउँदै थिए। अनि कोइ चाहिँ बिचरा एकदम असल मान्छे थिए, गए भन्थे भने कोही चाहिँ के गर्नु चलिआको चलन भन्थे। कोइ चाहिँ मसँग अलि दिनअगाडि गरेको झगडा र कल सम्झेर पछुताउँदै थिए। सबै जम्मा भइसकेपछि मलाई राखेको बाँससँगै मलाई पनि बोकेर हिंड्ने तर्खर गरे। अगाडि एक जना लाभा फाल्दै राम राम भन्थ्यो र पछाडिकाहरु सत्य हो भन्दै शंख फुक्दै थिए।
एकछिनमा घाट पुगे तिनीहरु। म पनि पछि पछि थिएँ। यो घाटमा थाहा छैन म कतिको मलामी आएको थिएँ पहिला। तर आज मेरो आफ्नै मलामीसँग मेरै लास जलाउन आएको छु। तल खोलाको छेउमा कसैले पहिल्यै आएर दाउराको चाङ लगाएको थियो। अनि खोलामा मेरो खुट्टा छ्वाएर छेऊमा सानो आगो बाले। एक जना मेरै घर छेउका बुढाले "सबै सामान तयार छ?" भनेपछि सबे मलामी मिलेर पोकाहरु हेरे। "ठिक छ" भन्ने उत्तर आयो। 
"ल अब लासलाई चितामा राखौं" भन्ने कोहीको आवाज आयो। सबै मिलेर मेरो शरीरलाई चितामा राखे। पण्डित बाले छोरालाई "ल आउ बाबु आगो देऊ! के गर्छो त बा चलेको चलन!! यस्तै हो संसारको नियम जन्मेपछि मर्नै पर्ने" भनेर हातमा आगोको मसाल दिए। अनि फेरि भने "ल तीन फन्का गुमेर आगो देऊ।"
हुन त पहिला मैले आफै कति छोराहरुलाई यसरी नै संझाएको थिए मलामी आको बेला। तर आज मैरो आफ्नै चिता जल्दैछ। म आफैँ रमिते भएको छु मेरो समसानको। म आफैँ एउटा साक्षी बनेको छु मेरो मृत्युको। हिजोसम्म दुनियाँ हिँड्ने मेरा खुट्टा, बाँच्न‍लाई श्रम गर्ने हात, खाने मुख, दुनियाँ देख्ने आँखा, समग्रमा पुरै शरीर सबै तयारी अबस्थामा थिए। जल्नका लागि तयार थिए। 
त्यसको लगतै छोराले मसाल लिएर चितामा तीन फन्को मार्यो। अनि बिस्तारै मेरो मुख्मा राखिदियो बलिरहेको मसाल। हिजोसम्म तातो चियाले समेत पोल्ने मुख आज आगोले बाल्दा पनि केही भएन। चिताको आगो बल्दै गयो म रमिता हेर्दै गएँ। हेर्दाहेर्दै आगोको लफ्टा पुरै चितामा पुग्यो।
 म हेर्दै थिएँ मेरो हात पहिला खरानी भयो। अनि खुट्टा। वास्तवमा धैरै पीडा भएको थियो मलाई आफू जलेको हेर्न। त्यो आगोले मलाई जलाउँदै त थियो तर त्यसको जलनभन्दा पनि आफू जिवित हुँदाको कुराहरुले मलाई पोलिरहेको थियो। "छोरा -छोरी, स्वास्नी, दाइ, भाइ, परिवार, साथीसंगी, को नै रहेछ त आफ्नो भन्नु! जिन्दगी हुनेबेला सम्म सबै आफ्नै हो भन्ने लाग्थ्यो! तर आज आफू पनि ता आफ्नो रहिनछु। आज आएर आफू जलेको नाटकको दर्शकबाहेक म अरु के नै हुन सकेँ त?" 
 "बाँचुन्जेल पैसाको नाममा, सम्पत्तिको नाममा,  मान , पद,.... आदि इत्यादिको नाममा कतिसँग झगडा गरेँ होला। आखिरमा आफैँले जन्म दिएको छोराको हातले जल्नु बाहेक अरु के नै रहेछ त मान्छेको जुनी?"
 तर आज आएर यो सबै सोच्दा र पश्चाताप गर्दा म मरिसकेको छु। लास बनिसकेको छु। चिता बनेर जलिरहेको छु।
 म यता सोच्न थाले उता मेरो शरीर त सकिसकेको रहेछ। कोहिले ठूलो बाँसले मेरो बचेको शरीरलाई पिट्दै थियो। हुन न अब कहाँ त्यो शरिर थियो र मासुको डल्लो मात्र थियो। त्यहि पनि उल्टाइपल्टाइ पिट्दै थिए। कोही मलामी भने फर्कने तर्खरमा थिए। कोही भने "अब भोक लाग्यो केही खानु पर्छ" भन्दै थिए। 
"लौ ! अब बचेको सानो टुक्रो मलाई एउटा अङ्खरामा रखेर पानीमा बगाईदिए!" अनि मलाई लाग्यो  "म सकिएँ। मेरो अस्तित्वबाट नामनिशान सबै हरायो। बिस्तारै साथीले भुल्छन मलाई। अनि आफन्तले। समयसँगै छोराछोरीले। तर पनि एक जनाको मलाई मरेपछि पनि माया लाग्दै छ। हो मेरो पत्नीको सायद सेतो कपडा र खालि सिन्दुर अनि खालि हातले गर्दा ऊ मलाई आफू चितामा मजस्तै सकिने बेलासम्म पनि सम्झिरहन्छिन्। 

सबै मलामी त फर्किए मलाई बिदा गरेर तर म अब कता जाउँ! न यमदूत आयो मलाई लिन, न त म उडेर बैतरणी नदी पुगेको छु!! मैले जिन्दगीभर बनाएको स्वर्ग या नर्क , खै कहाँ छन्? आज थाहा भो मलाई।" स्वर्ग, नर्क, पाप,  धर्म, अनि भगवान र मन्दिर यो सब मान्छेको डरले बनेको कुरा रहेछ। तर अब थाहा पाएर के गर्नु म त मरिसकेको छु। 

No comments:

Post a Comment