छालको आवेग
कहाँ थामिसक्नुको छ र
यता किनारमा
उर्लदै आएर
छिनभरमै
निथ्रुक्कै भिजाउँछ
ओभानो मनलाई ।
आफै उभिएको धरातल
कमजोर भएको बेला
यिनै पाईतालाको भर नलाग्दो रै'छ
चर्को चर्को भएको दाल पिएझै
नुनिलो पानीले प्यास नमेट्दो रै'छ
थाहा छैन
म गोडा चार एक खुसीका
त्यान्द्रा टिप्न आएको हुँ
अथवा यहि छालको सामिप्यमा
आफैलाई समाहित गर्न?
लाटो मन
पल्लो किनार खै त भन्छ सागरको
बुझाउनै गाह्रो
पर क्षितिजमा देखिने संगम
केवल पानी र आकाशको मात्र भनेर
नियति एकै त हो आखिरमा
सागर जस्तै म
अथवा म जस्तै सागर
मेरो एकपाटे खुसी
उसको एकपाटे किनारा ....
No comments:
Post a Comment